इसाईहरूको पार्थिव शरीर चिहानमा राख्‍न नपाउँदा

कुनै पनि जाति, भाषा वा वर्गको नेपाली मरेपछि पार्थिव शरीरलाई आफ्नो धर्म, परम्परा अनुसार निश्चित ठाउँमा अन्त्यष्टि गर्ने चलन परापूर्व कालदेखि नेपालमा चल्दै आएको छ। जुनसुकै भाषा, वर्ग वा समूहको मानिस भएपनि शोकको समयमा छिमेकी जिउँदाका जन्ती मर्दाका मलामी हुँदै आएका छन्। मानिसलाई वा छिमेकीलाई शोक पर्‍यो भने छिमेकीको दु:खमा सहानुभूति दिन सँधै तत्पर रहेको

 पाइन्छ। यही विषयमा ख्रीष्टियनहरूको पार्थिव शरीरलाई अन्त्यष्टि गर्ने सम्बन्धमा भने निकै दु:खद घटनाहरू भएका छन्। एकातिरपरिवारमा कसैलाई गुमाउनु परेको शोक हुन्छ भने, अर्कोतिर छिमेकीबाट पाउने मानविय सहयोग वा सहानुभूति पाउनुको सट्टा पार्थिव शरीर गाड्ने ठाउँमा छिमेकीद्वारा नै अवरोध गरेर ठूलो दु:ख दिएको थुप्रै घटनाहरू राजधानीमा बसोबास गर्ने ख्रीष्‍टियनहरूले भोग्‍नु परेको छ। ख्रीष्टियन भएकै कारण मृत शरीरलाई अन्त्यष्टि गर्न नपाएका घटनाहरू बारम्बार दोहोरिएका छन्। धार्मिक परम्परा अनुसार पार्थिव शरीर अन्त्यष्टि गर्न नपाउनुले राजधानीमा बसोबास गर्ने ख्रीष्टियनहरूलाई आफ्नै छिमेकीबाट अन्यायपूर्ण काम भएको छ। चिहानको विषयमा ख्रीष्टियन समूदायहरूले सरकारसँग उचित व्यवस्था गरिदिनुपर्‍यो भनि बारम्बार कुरा राख्दा पनि सरकार मौन हुनुले ख्रीष्टियनहरूलाई शोकको समयमा हुने पिडामाथि सहानुभूति महशुस गर्न पाएका छैनन्।

 

ख्रीष्टियनहरूको मृत शरीर गाड्नको लागि ख्रीष्टियनहरूले ललितपुरको लेलेमा किनेको चिहानमा पनि लास गाड्न नपाउनु र यस सम्बन्धमा सरकारसँग सम्बन्धित निकायमा कुरा राख्दा पनि मौन हुनुले नेपाली भएर पनि ख्रीष्टियन भएकैकारण विभेद गरिएको गुनासो नेपाली ख्रीष्टियनहरूको छ। कुनै पनि नेपाली नागरिकमाथि समस्या आउँदा सम्बन्धित निकायले उचित व्यवस्था गरिदिनुपर्ने हो तर भएको चिहान पनि प्रयोग गर्न नपाउनु धेरै ठूलो अन्याय भएको महशुस ख्रीष्टियनरूको छ। भर्खरै अर्को एउटा घटना भएको छ, २०७३ फागुन ११ गते जोय चर्च धापासीको एक जना सदस्यको शबलाई धार्मिक विधि अनुसार अन्त्यष्टि गर्न मकवानपुर जिल्लाको टिस्टुङ ४ स्थित समाधि स्थलमा लैजादै गर्दा मकवानपुर र धादिङ जिल्लाको सिमानामा टिस्टुङ नपुग्दै स्थानियहरूको अवरोधको कारणले अन्त्यष्टि गर्न पाएनन्। टिस्टुङमा चर्चहरूले मिलेर चिहानको लागि किनेको २६ रोपनि जमिन छ। प्राप्त जानकारीअनुसार अहिलेसम्म २ जनाको मात्रै पार्थिव शरिर उक्त चिहानमा राखिएको छ। यो भन्दा पहिलापनि शब लैजादै गर्दा बाटोबाटै फर्काइएको गुनासो छ। फागुन ११ गते धापासीबाट टिस्टुङ लैजाँदै गरेको शब स्थानियको अवरोधको कारण करिब डेढ घण्टा बाटोमै रोकेका थिए। अवरोध पुर्‍याउनेहरूसँग अनुरोध गर्दा पनि नमानेको कुरा तुलसी श्रेष्ठले जानकारी गराउनुभएको छ। मकवानपुर जिल्लामा धादिङ भएर शब लान पाइ्न्न भन्ने स्थानियको अडानको कारणले शबलाई फिर्ता ल्याउनुपरेको कुरा श्रेष्ठले बताउनुभयो। अन्त्यमा पशुपति क्षेत्रमा रहेको शब जलाउने मेसिनमा जलाएको कुरा श्रेष्ठले जानकारी गराउनुभयो।
धेरैखालका परिवर्तनहरू आए, राजनैतिक परिवर्तनहरू पनि आए तर राजधानीमा बसोबास गर्ने ख्रीष्टियनहरूको लागि यो समस्या भने जस्ताको तस्तै छ। यसको निम्ति उचित व्यवस्था हुन आवस्यक छ। सबै जनताले नेपाली भएको गर्व गर्न पाउनुपर्छ। राज्यले भाषा, जाति, वर्ग, धर्म, क्षेत्र सबै क्षेत्रलाई ध्यान पुर्‍याउनु अति आवश्यक छ।

Comments

comments