अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ

वासिङ्गटनः संसारकै शक्तिसाली राष्ट्रको रूपमा चिनिने अमेरिकाका ४५ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले शुक्रबार भव्य समारोहका बीच शपथ लिएका छन्। ट्रम्पले परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर शपथ लिए । यसका साथै आफ्नी आमाले बाल्यकालमा पढ्न दिएको बाइबल पनि उनले प्रयोग गरेका थिए। अमेरिकाका प्रधानन्यायाधीशले उनलाई शपथ खुवाएका थिए। ट्रम्पभन्दा पहिला अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शपथ लिएका थिए । ट्रम्पले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गरेका छन्। सीमा क्षेत्रको नियन्त्रण र संसारभरि अमेरिकाको सम्मान पुनर्स्थापित गरेर महान राष्ट्रका रुपमा चिनाउने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।आफ्नो कार्यकाल अमेरिकालाई बर्सौंसम्मको निर्देशन गर्ने समय हुने उनले बताए ।
हामी अमेरिकी नागरिकहरू देश पुनर्निर्माण गर्ने राष्ट्रिय अभियानमा अहिले एकताबद्ध भएका छौं,’ उनले भने, ‘हाम्रो अहिलेको प्रयासले नै आगामी वर्षहरूमा अमेरिका र यो संसार कता जान्छ भन्ने बाटो निर्क्यौल गर्नेछ। यसमा हामीले पक्कै पनि थुप्रै चुनौतीहरू सामना गर्नुपर्छ। कठिनाइहरू आउनेछन्। तर, हामी आफ्नो अभियानमा अवश्य सफल हुनेछौं।

शपथग्रहणमा उनले अमेरिकालाई महान् बनाउनेमा निकै जोड दिएका छन् । निकै सजधजका साथ शपथग्रहण समारोह सजाइएको थियो । पदको शपथ लिनुपूर्व उनले ट्विटमा भनेका थिए, ‘अमेरिकाको राजनीतिक र आर्थिक अवस्था बदल्ने काम सुरु हुँदैछ ।’ शपथपूर्व ट्रम्पले सेन्ट जोन्स एपिसकोपल चर्चमा पुगेर प्रार्थना गरेका थिए । उनी परिवारका सदस्यका साथ त्यहाँ पुगेका थिए । उनी र उनकी पत्नी मेलानियालाई चर्चका पादरीले स्वागत गरेका थिए ।

Comments

comments