मुस्ताङी पूर्व राजा जिग्मे पलबर बिष्‍टको निधन

मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। गत मंसिर २८ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई कृतिम स्वासप्रस्वास दिइएको थियो। उनी मुटुको समस्याबाट पनि पीडित थिए।
राजा जिग्मे राजनीतिभन्दा धार्मिक, सांस्कृतिक, स्वास्थ्य र शीषा क्षेत्रमा बढि परिचित थिए। राजा महेन्द्रको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताका लागि रहेको राजनीति र राजा बीरेन्द्रको शान्तिका लागि अन्तराष्ट्रिय जगतमा खेलेको भूमिका आम बौद्धमार्गीले अनुसरण गर्नुपर्छ भनि राजा जिग्मेले भन्ने गर्थे। उनले राजा महेन्द्र र विरेन्द्रको बढि याद आएको कुरा गर्थे। मुस्ताङको प्रत्येक भ्रमणमा आफूसँग मुलुकको राजनीति र आर्थिक विकास र सामाजिक कार्यमा अभिरूची राख्थे।
राजा महेन्द्रले २०१९ सालमा राजा रजौटा उन्मुलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए।

उपल्लो मुस्ताङको लोमान्थाङमा जन्मिएका उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका तेस्रो पुत्र थिए। उनले चीनको सिगात्से (तिब्बत) बसेर स्व अध्ययन गरेका थिए। सन् १९५९ मा उनलाई राजा आङ्गुनको उत्तराधिकारीको रुपमा नेपालका तत्कालीन राजाले मान्यता दिएका थिए।
सन् १९६४ मा पिताको निधनपछि उनी मुस्ताङको राजा घोषित भएका थिए। उनी सन् १९६४ देखि १९९० सम्म राजसभाको सदस्य तथा सेनाको लेफ्टिनेन्ट कर्नेलको जिम्मेवारीमा थिए।

२०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै आएका पूर्वराजा विष्टको उपाधि गणतन्त्रको कार्यान्वयनसँगै खोसिएको थियो। त्यसयता भने उनी निष्क्रिय थिए। मुस्ताङी राजाको औपचारिक पदवी र उनले पाउने पाँच हजार रुपैयाँ भत्ता पनि खोसियो। स्थानिय बासिन्दा भने जिग्मी पलवर विष्टलाई पूर्वराजा हैन, ‘राजा’ नै भन्ने गर्थे। (स्थानीय भाषामा ग्याल्पो भन्थे)

काठमाडौंको नारायणहिटीमा धक्का लाग्यो। राजतन्त्रमाथि विषवमन कायमै थियो। एक दिन एकाएक काठमाडौंबाट उडेको हेलिकप्टर सोझियो ‘अपर’ मुस्ताङतिर। हेलिकप्टरमा थिए वामदेव गौतम। उनले सरकारी पत्र बोकेर गएका थिए जसमा भनिएको थियो– मुलुक अब गणतन्त्र भएको छ। तपाईँहरु अब राजा रहनुभएन। तपाईँको सुविधा काटियो। शीरबाट ताजपोशहरु खोसिए। एकाएक राजाहरु रैति बने।

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए। पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी पलबर विष्ट (अशोक), पूर्वराजकुमारी र नातिनातिनीसँग उनी केही वर्षदेखि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए। मुस्ताङका २५ औँ राजा समेत रहेका उनको उपचारका क्रममा बिहीबार राति निधन भएको अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Comments

comments