मध्यपहाडी लोकमार्गको यात्रा


हे …कान्छी दिक्तेल बजार , माया लाउँ भनेर यो मन हतार…
हे… कान्छा दिक्तेल बजार, माया लाउँ भनेर आउँछन् हजार…. मिठो स्वर र संगितको गीत बसमा घन्किएको छ। बसको भित्र सिटको क्षमताभन्दा बढि मान्छेहरु छन्। दिनमा 1/2 बस गुड्छन्, जसरी पनि गन्तव्यमा सबैलाई पुग्‍नु छ। धुलोको त कुरै नगरौं, यात्रुहरुले विभिन्न रङ्‍गका कपडा लगाएपनि बसभित्र सबै एकैनासे देखिन्छन्। लामोसमयदेखि बसको पर्खाइमा बसेकाहरुलाई भित्र ठाउँ नभएपनि बसले रोक्छ… खुसी भएर यात्रुहरु बसको छतमा चढ्छन्। धुलाम्मे र खाल्डाखुल्डी भएको बाटोमा गुडेको बस, घन्किएको गीत, उडेको धुलो, रोक रोक भनेर कराउने यात्रुहरु… सबैको ताल आ आफ्नै हुन्छ।

बस वीच बाटोमा रोकेर एक दम्पतिहरु गुरूजी ५ मिनेट दर्शन गरेर आइहाल्छौं है, भन्दै हात हल्लाउँदै कुद्छन्। धर्मकर्ममा आश्थावान मानिसहरु पनि छन् भन्ने सबैको बुझाइ हुन्छ। कोहि केहि पनि बोल्दैनन्। बस भित्रभएकाहरुले भित्रैबाट मन्दिरतिर फर्केर दुइहात जोडेर ढोक्छन्। १५ मिनेटपछि बस गुड्छ। यात्रुहरु एक आपसमा कुरा कानी गर्छन्, (सायद नातेदार हुनुपर्छ)” के मागिस?” के को माग्‍नु नि बसले हतार गर्‍यो उत्तर आउँछ। अलि अगाडि गएपछि फेरी वीच बाटोमै बस रोकेर, केटाहरुले लफडा गरे भन्दै, ड्राइभर बाहिर निस्कन्छ। यात्रुहरु कराउँछन् कति रोकेको भन्दै। चुल्ठो पालेका केटाहरू भेला हुन्छन्।
जे हुनु थ्यो भइगयो, अब यसरी हातपात नगर केटाहरु भनेर एकजनाले सम्झाउँछन्। सायद एक दिन अगाडि झगडा भएको हुनुपर्छ। एकजना बुढा बाजेले भन्छन्, “भोजपुरका बस डाइबर, खलासीहरूले खोटाङ आउनेहरुलाई थोरै सामानको पनि धेरै पैसा लिन्छन्। यो त साह्रै भयो।” कुरा बुझ्दा यात्रा गर्दा भोजपुरे र खोटाङेको मनमुटाव भएको देखिन्छ। जसोतसो कुरा मिल्यो। ३० मिनेटपछि बस गुड्यो। भोजपुरको चखेवाबाट खाोटाङको दिक्तेल पुग्‍न झण्डै ७ घण्टा लाग्यो। गाउँमा बाटो मोटर पुगेपछि स्थानीयहरु निकै खुसी छन्। केही वर्ष अगाडिमात्रै दिक्तेलबाट महेन्द्र राजमार्ग (गाइघाट) आइपुग्‍न झण्डै तीन दिन लाग्दथ्यो भनि बताउँछन स्थानीय अग्रजहरु। मध्यपहाडी लोक मार्ग तीब्र रुपमा निर्माण हुँदैछ। यहि गतिले काम अगाडि बढ्ने हो भने एकवर्षभित्र पाँचथरदेखि काठमाडौं सजिलै आउन सकिन्छ।

Comments

comments

Leave a Reply