मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई पहिलो ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् ।
ख्रिस्टाब्द २७२ तिर रोमी प्रान्त मोइसिया (आधुनिक युरोपेली मुलुक सर्बिया) मा कन्स्टेन्टाइनको जन्म भएको थियो । आफू बिरामी परेर मर्न लाग्दा पिता फ्लाभिअसले छोरो कन्स्टेन्टाइनलाई पश्चिमी रोमको सम्राट् बनाए । त्यसपछि तिनले ब्रिटेन, गउल र स्पेनमाथि शासन गर्न थाले । तिनले आफ्नो राज्यको सिमानालाई बढाए र जनताले तिनलाई असल शासकको रूपमा हेर्न लागे ।

तर गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली मानिसहरूले रोमी साम्राज्यलाई आफ्नो कब्जामा पार्न चाहे जसमध्ये एक थिए, म्याक्सिन्टस । तिनले आफैलाई सम्राट् घोषणा गरे । रोममा बस्ने यी स्व-घोषित शासकले रोम र इटालीमाथि कब्जा जमाए ।

कन्स्टेन्टाइन र तिनको सेना म्याक्सिन्टसको विरुद्धमा युद्ध गर्न अगाडि बढे । म्याक्सिन्टसको सेनाको आकारको तुलनामा कन्स्टेन्टाइनको सेनाको आकार झण्डै आधा भए तापनि २७ अक्टोबर ३१२ मा कन्स्टेन्टाइन महान्‌ले ख्रीष्टको दर्शन देखेका थिए जसमा तिनले ख्रीष्टको नाउँमा युद्ध गरे जित हासिल गर्ने थिए भनी तिनलाई बताइएको थियो । नभन्दै, तिनले युद्ध जिते र तिनी पश्चिमी रोमको एक मात्र सम्राट् बने भने लिसिनस पूर्वका सम्राट् बने । कन्स्टेन्टाइनले युद्धको सफलताको श्रेय ख्रीष्टियान परमेश्वरलाई दिए यद्यपि यसभन्दा अगि तिनले सूर्य देवतालाई पुज्ने गर्थे ।

मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३ लाई एउटा महत्त्वपूर्ण साल मानिन्छ । यही सालमा पूर्व र पश्चिमका दुवै सम्राट्ले हस्ताक्षर गरेको मिलानको घोषणा जारी गरियो । अब ख्रीष्टियान धर्मले वैधानिकता पायो । रोमी साम्राज्यमा ख्रीष्टियानहरूलाई सताउन नपाउने भयो यद्यपि यसभन्दा अगि मनग्गे ख्रीष्टियानहरू ख्रीष्टमाथिको विश्वासकै कारणले सहिद बन्नुपरेका थिए । राज्यले देवी-देवताहरूलाई चढाउने पशु बलिले निरन्तरता पाएन; सम्राट्ले मण्डलीलाई उचित स्थान प्रदान गरे; तिनले मानवतावादी सुधारहरूको अनुसरण गरे; हरेक नागरिकलाई धार्मिक स्वतन्त्रता प्रदान गरियो; अगिल्ला सतावटहरूमा खोसिएका विश्वासीहरूका सम्पत्ति फिर्ता गरिए । सम्राट् कन्स्टेन्टाइन आफै नै ख्रीष्टियान बने ।

अनुगामी वर्षहरूमा थप कानुनहरू ल्याइए जुन ख्रीष्टियान मूल्य मान्यताहरूमा आधारित थिए । सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ भन्ने बुझाइको कारणले दास र अपराधीहरूलाई निधारमा छाप लगाउने कार्यलाई निषेध गरियो; दासलाई क्रुसमा झुन्ड्याउने चलनको निर्मूलन गरियो; मान्छेले मान्छेको विरुद्धमा लडेर रगत बगाई मनोरञ्जन लिने खेललाई मनाही गरियो; अनपेक्षित शिशुहरूलाई मार्ने अभ्यासमा रोक लगाइयो ।

तर पूर्वका सम्राट् लिसिअसलाई राज्यका केही गतिविधिहरू मन परिरहेको थिएन । त्यसैले तिनले ख्रीष्टियानहरूलाई पुन: सताउन थाले । तर पश्चिमका सम्राट् कन्स्टेन्टाइन त्यसको विपक्षमा उत्रिए । कैयौँ युद्धहरूपश्चात् कन्स्टेन्टाइनले लिसिअसलाई पराजित गरे र ३२४ मा कन्स्टेन्टाइन एकीकृत रोमको शासक बने ।

सम्राट्ले कन्स्टेन्टिनोपललाई नयाँ राजधानी बनाए । झण्डै ६ वर्ष लगाएर निर्माण गरिएको यो सहरले ३३० मा पूर्णता पाएको थियो । यो यति वैभवशाली थियो कि यसले रोमसँग प्रतिस्पर्धा गर्थ्यो । ख्रिस्टाब्द १४५३ मा यो मुसलमानहरूको हातमा नपरुञ्जेलसम्म यो मध्यकालभरि नै सर्वाधिक ठुलो सहर बन्यो ।

आफ्नो मृत्युको केही समयअगि मात्र बप्तिस्मा लिएका कन्स्टेन्टाइन ख्रिस्टाब्द ३३७ मा प्रभुमा सुते र तिनको शवलाई नयाँ राजधानीमा गाडियो । तिनको मृत्युमा विश्वले शोक मनाएको थियो ।

-Reason to Believe

Comments

comments

Leave a Reply