कहिलेबाट ख्रीष्टमस मनाउन थालियो ?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्तावेजहरूमा येशूको जन्मको साल, महिना र गते कतै पनि उल्लेख छैन । त्यसैले, उहाँको वास्तविक जन्म मिति हामी कसैलाई पनि थाहा छैन । तथापि उहाँ लगभग ४ ख्रीष्टपूर्वमा जन्मनुभएको थियो भन्ने सामान्य सहमति छ । बाइबल धर्मशास्त्रसाथै कुनै पनि प्राचीन बाइबलेतर स्रोतमा उहाँको जन्म मिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूका बिचमा कुनै निर्धारित मिति थिएन । उहाँको जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । चौथो शताब्दीको उत्तराद्र्धतिर आइपुग्दा ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालियो ।

डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा चिनाउने प्रथम व्यक्ति रोमका हिप्पोलाइटसजस्तो देखिन्छ । तिनी तेस्रो शताब्दीका अति नै महत्त्वपूर्ण ईश्वरशास्त्री थिए । ख्रीष्टाब्द ३८५ मा पोप जुलियस प्रथमले डिसेम्बर २५ मा नै ख्रीष्टको जन्मोत्सव मनाउनुपर्छ भनी घोषणा गरे । चौथो शताब्दीको अन्त्यतिर जोन ख्रिसोस्टोमले पनि डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा वकालत गरे । परम्पराअनुसार येशू डिसेम्बर २५ मा जन्मनुभएको थियो भनी सन्त अगस्टिन (ख्रीष्टाब्द ३५४-४३०) ले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।

चौथो शताब्दीमा ख्रीष्टियमत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस युरोपमा सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व बन्यो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैरख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैरख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बिसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । आज संसारका ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका अरबौँ मानिसहरू उहाँको जन्मोत्सवमा रमाउँछन् । आज ख्रीष्टमस संसारकै बडादिन भएको छ ।

By Kamal Adhikari

Comments

comments

Leave a Reply